बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

धनकुटा । ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ ।

लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार बसमा सवार करिब ३० जना यात्रुलाई जेसीबीको सहायताले सुरक्षित स्थानमा उद्धार गरिएको छ । यात्रु उद्धारपछि बसलाई समेत जेसीबीकै सहयोगमा खोलाबाट निकालिएको उनले जानकारी दिए ।

प्रदेश १-०१-००१ ख ४२३३ नम्बरको उक्त बस नावा खोलामा फसेको हो । बिहीबार बिहानदेखि भइरहेको निरन्तर वर्षाका कारण नावा खोलासहित आसपासका अन्य खोलामा समेत पानीको सतह बढेको छ । पानीको बहाव उच्च भएपछि तमोर करिडोर सडकखण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा हुँदै पाँचथर, तेह्रथुम र हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने तमोर करिडोर महत्त्वपूर्ण सडकमार्ग हो ।

तर, नावा खोलामा हालसम्म पक्की पुल निर्माण हुन नसक्दा वर्षायाममा बाढी आउनेबित्तिकै यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । पुल निर्माणका लागि ठेक्का लागिसकेको भए पनि पटकपटक म्याद थप्दा समेत काम सम्पन्न हुन सकेको छैन । पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी तथा यात्रुले वर्षेनि आवागमनमा सास्ती भोग्दै आएका छन् ।