भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर । धार्मिक पर्यटनमार्फत नेपालको पूर्व र पश्चिमलाई जोड्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिका–८, चुरेफेदस्थित भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण भइरहेको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भम्केनी धामलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित साविकका ७५ जिल्लाको पहिचान झल्किने गरी मूर्ति निर्माण गर्न लागिएको हो ।

मूर्ति निर्माण समितिका अध्यक्ष जनक जोशीका अनुसार २०७५ सालदेखि निर्माण कार्य सुरु गरिएको हो । जगत्गुरु मोहनशरण देवाचार्यको अभियानमा सुरु भएको मूर्तिको हालसम्म ३९ फिट ढलान सम्पन्न भइसकेको उनले बताए ।

‘बजेट अभावका कारण केही समय निर्माण कार्य प्रभावित भएको थियो । यसपटक प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ’, उनले भने ।

उनका अनुसार मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्नेछ । हाल समितिसँग १५ टन पित्तल मौज्दात रहेको छ । जगत्गुरु मोहनशरण देवाचार्यले २०७२ वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्ने क्रममा २२ टन तामा, पित्तललगायतका धातु सङ्कलन गरेका थिए । त्यसबाहेक स्थानीयवासीले उपलब्ध गराएको धातुबाट पनि मूर्ति निर्माण भइरहेको छ ।

मूर्ति निर्माणका लागि २०७४ सालमा भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८० लाख रुपैयाँमा सम्झौता भएको थियो ।

भम्केनी धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरन खत्रीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा धामको विकास तथा मूर्ति निर्माणका लागि तीन करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘हाम्रो प्राथमिकता नेपाल आमाको मूर्ति निर्माण सम्पन्न गर्नु हो । यससँगै पर्यटकको सहजताका लागि आवश्यक अन्य पूर्वाधारसमेत निर्माण गर्ने योजना छ’, उनले भने ।

जगत्गुरु देवाचार्यले धाममा धार्मिक गतिविधि सञ्चालन गर्न थालेपछि यहाँ भक्तजन तथा पर्यटकको आवागमन बढ्न थालेको अध्यक्ष खत्रीले बताए ।

उनका अनुसार धाम परिसरमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कुण्ड निर्माण गरिएका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक तथा भक्तजन धामको दर्शन गर्न आउने क्रम बढेको छ ।

नेपाल आमाको मूर्ति निर्माण सम्पन्न भएपछि भम्केनी धामलाई राष्ट्रियस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, सुदूरपश्चिमका नौवटै जिल्लाका धार्मिक तथा सांस्कृतिक पर्यटकलाई एउटै स्थानमा आकर्षित गर्न सकिने विश्वास व्यवस्थापन समितिले लिएको छ ।