डोल्पा कारागारमा सुरुङ खनेर आठ कैदीबन्दी फरार

सुर्खेत– डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका १७ जनामध्ये आठ जना सुरुङ बनाएर फरार भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

जिल्ला सदरमुकाम दुनैस्थित कारागारबाट उनीहरूले ४.६३ मिटर लामो सुरुङ खनेर भागेका हुन्। शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो।

फरार हुनेमा रुकुम पश्चिमका राम विक, डोल्पाका कालिप्रसाद रोकाय, सल्यानका रेशम राना, जाजरकोटका यज्ञ विक, डोल्पाका धन बुढा भनिने हरिबहादुर बुढा, जाजरकोटका कैलाश भनिने कपिल परियार तथा रुकुम पश्चिमका तिलक भण्डारी र आदेश भण्डारी रहेका छन्।

फरार भएकामध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए भने तीन जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार आठै जना एकैपटक फरार भएका हुन्। उनीहरू कुन समयमा कारागारबाट बाहिरिएका हुन् भन्नेबारे खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले घटनाबारे अनुसन्धान भइरहेको बताए। उनका अनुसार कारागारको सीसीटीभी फुटेजसमेत अध्ययन भइरहेको छ। फरार कैदीबन्दीको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको छ।