बडीमालिका हिमपात अपडेटः एक जनाकाे उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातका कारण फसेका दुई पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ निवासी २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो ।

चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसिरहेका थिए ।

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएका कार्कीलाई सदरमुकाम मार्तडी पुर्‍याइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

यसैबीच, बडीमालिका क्षेत्रमा सम्पर्कविहीन भएका कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी निवासी २० वर्षीय मनिष बोहराको खोजी कार्य जारी छ । उनको खोजीका लागि सदरमुकामस्थित नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

गत असोज ९ गते सदरमुकाम मार्तडीबाट दुई जनासहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । टोलीका पूर्वका तीन जना भने बडीमालिकाबाट फर्किएर मार्तडी पुगिसकेका छन् ।