काठमाडौं । आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पाँच ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ ।
तीन खेल खेलेको विराटनगरले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै दुई अंक जोडेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।
विराटनगरको जितमा रसेलले ब्याटिङतर्फ अविजित २९ रन बनाउनुका साथै बलिङमा एक विकेट र फिल्डिङमा एक क्याच लिए । उनले १० बलमा दुई चौका र तीन छक्का प्रहार गरेका थिए ।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । पहिलो बलमै रसेलले ओपनर शेरफान रुथरफोर्डलाई आउट गरे । दोस्रो ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि सुदूरपश्चिमले सात रनमै दुई विकेट गुमाएको थियो ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए । यस्तै, आरिफ शेखले अविजित १७ तथा ओपनर सैफ जैबले १७ रनको योगदान दिए । जैबले १० बलमा दुई छक्का प्रहार गरेका थिए ।
बलिङतर्फ विराटनगरका रसेलले दुई ओभरमा आठ रन खर्चेर एक विकेट लिए । एन्जेलो म्याथ्युजले एक ओभरमा १५ रन दिँदै एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रनको विशाल योगफल तयार पारेको थियो ।
विराटनगरका ओपनर शेहान जयसूर्याले आक्रामक ब्याटिङ गर्दै ११ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ३९ रन बनाए । उनले सुदूरपश्चिमका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायकेको पहिलो ओभरमै पाँच छक्का प्रहार गरेका थिए ।
अर्का ओपनर लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे । उनी अन्तिम बलमा आउट भएका थिए ।
त्यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रसेलले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए ।
जयसूर्या र लोकेश बमले आक्रामक सुरुवात गर्दै विराटनगरलाई आठ बलमै अर्धशतकको आँकडा पार गराएका थिए । पहिलो ओभरमै जयसूर्याले पाँच छक्का प्रहार गर्दा विराटनगरले ३५ रन जोडेको थियो ।
जयसूर्या तेस्रो ओभरमा अभिनाश बोहराको बलमा एलबीडब्लू आउट भए । अम्पायरले सुरुमा उनलाई आउट दिएका थिएनन् । तर, रिभ्यु लिएपछि निर्णय विराटनगरको पक्षमा गएको थियो ।
सुदूरपश्चिमका लागि अभिनाश बोहराले दुई ओभरमा २८ रन खर्चेर एक विकेट लिए ।
वर्षाका कारण खेल ढिलो
वर्षाका कारण मैदानमा पानी जम्दा सुदूरपश्चिम र विराटनगरबीचको खेल निर्धारित समयभन्दा झन्डै चार घण्टा ढिलो सुरु भएको थियो ।
शनिबार साँझ पाँच बजेका लागि तय भएको खेल मैदान सुकाउन समय लागेपछि सुरुमा साँझ ७ः२५ बजे टस गर्ने र ७ः४१ बजे खेल सुरु गर्ने तालिका बनाइएको थियो । तर, टसकै विषयमा दुवै टोलीबीच सहमति हुन नसक्दा खेल थप लम्बिएको थियो ।
विराटनगरका कप्तान सन्दीप लामिछाने टसका लागि मैदान पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी निर्धारित समयमा मैदानमा उपस्थित भएनन् । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का र म्याच रेफ्रीसहितका पदाधिकारीबीच छलफल भएको थियो ।
लामो अन्योलपछि राति ८ः५४ बजे सुदूरपश्चिमका खेलाडी मैदानमा खेल्न तयार भएका थिए । त्यसपछि राति नौ बजे टस गर्ने र ९ः१५ बजे खेल सुरु गर्ने समय तय गरिएको थियो ।
सुदूरपश्चिमका खेलाडी तथा व्यवस्थापन टसका लागि तयार नहुनुको आधिकारिक कारण सार्वजनिक नभए पनि आउटफिल्ड भिजेको र विदेशी खेलाडी खेल्न तयार नभएको विषयले विवाद सिर्जना गरेको मैदानमा देखिएको थियो ।
अन्ततः टस जितेको सुदूरपश्चिमले पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले ब्याटिङ गरेको थियो ।





