काठमाडौँ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बंगलादेश र श्रीलंकाका क्रिएटरलाई नेपाल ल्याइएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिँदै आएका छन्। सोहीअनुरूप टिकटकमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध अनुभवलाई विश्वभर चिनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
नेपाल आएका क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन्। भ्रमणका क्रममा उनीहरूले त्यहाँका प्राकृतिक तथा सांस्कृतिक आकर्षण, स्थानीय जीवनशैली, खानपान, पर्यटन गतिविधि र मौलिक अनुभव समेटिएका भिडियो तथा डिजिटल सामग्री निर्माण गर्नेछन्।
उनीहरूमध्ये यूएई र ट्युनिसियाका तीन जना क्रिएटर फ्लाई दुबईको विमानमार्फत सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनीहरूलाई नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीकी अध्यक्ष सङ्गीता पौडेललगायतले स्वागत गरेका थिए।
त्यसैगरी अन्य क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डका वरिष्ठ अधिकृतद्वय कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार क्रिएटरहरूले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत आफूले भ्रमण गरेका गन्तव्यका सामग्री सार्वजनिक गर्नेछन्। यसबाट नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन र विदेशी पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस भ्रमणमा सहभागी बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन्।
त्यस्तै, फ्रान्सका जेरेमी ब्युडेटले चितवन पुगेर वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, थारू संस्कृति तथा प्रकृतिमा आधारित पर्यटनका अनुभव समेट्नेछन्। पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन्।
एनटीबी र टिकटकबीच नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त सहकार्यअन्तर्गत ‘लाइफटाइम एक्सपिरियन्सेस’ अभियान सुरु गरिएको हो। अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वभर पुर्याउने लक्ष्य राखेको छ।
थपलियाका अनुसार उक्त अभियानमा अन्तर्राष्ट्रिय तथा नेपाली कन्टेन्ट क्रिएटरलाई सहभागी गराई नेपालका विभिन्न पर्यटकीय गन्तव्यको अनुभव गराउने र सामग्री निर्माण गर्न प्रोत्साहित गर्ने कार्यक्रम अघि बढाइएको छ। यस सहकार्यलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन गरिएको उनले बताए।
यसअघि गत जुन २४ देखि २६ सम्म काठमाडौंमा नेपाल पर्यटन बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो। कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत पर्यटकीय गन्तव्यको प्रचार गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।
भ्रमणका क्रममा क्रिएटरहरूले स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि तथा पर्यटकले प्राप्त गर्न सक्ने मौलिक अनुभवलाई समेत सामग्रीमा समेट्नेछन्।
डिजिटल माध्यमबाट गरिने यस्तो प्रचारले विशेषगरी युवा पुस्तामाझ नेपालको पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। टिकटकमा सार्वजनिक हुने छोटा भिडियो तथा व्यक्तिगत यात्राका अनुभवले सम्भावित पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नुका साथै गन्तव्य छनोट गर्नसमेत मद्दत गर्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटरसँगको सहकार्यलाई नेपालको पर्यटन कथा विश्व बजारमा पुर्याउने प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ। यसबाट पोखरा, चितवन र बर्दियाको अन्तर्राष्ट्रिय पहिचान विस्तार हुनुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।






