काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउन विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गरेको छ।
गठित उपसमितिहरूमा क्यान्डिडेट क्लबका संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिका संयोजकमा सुशान्त वैदिक, गुनासो समन्वय उपसमितिका संयोजकमा जनकसिंह धामी र समावेशीता तथा महिला सहभागिता उपसमितिका संयोजकमा डा. तोशिमा कार्की रहेका छन्। त्यस्तै, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बू चयन भएका छन्।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका लागि उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ। पार्टीले उम्मेदवार छनोटसम्बन्धी रूपरेखाका विभिन्न पक्षलाई प्रभावकारी रूपमा कार्यान्वयन र समन्वय गर्न यी उपसमितिहरू गठन गरिएको जनाएको छ।






