बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

काठमाडौं । बाढीपहिरोका कारण म्याग्दीको मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । विपद्बाट १७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा रहेका छन् ।

गाउँपालिकाका अनुसार बाढीपहिरोले ५७२ रोपनी खेतबारीमा क्षति पुर्‍याएको छ । त्यस्तै, १२ वटा गोठ पूर्ण रूपमा र १८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । गाउँपालिकाभित्रका २० वटा सडकमा समेत क्षति पुगेको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं. ५ को छिसवाङ, वडा नं. २ को भाइवाङ र वडा नं. ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत वितरण र अस्थायी बसोबासको व्यवस्था मिलाउनुका साथै क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए ।

बाढीपहिरोका कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोबाट विस्थापित गाउँपालिका–३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटाले बस्ती संरक्षण तथा पहिरो नियन्त्रणका लागि स्थानीय सरकारले समयमै पहल गर्नुपर्ने बताएका छन् । समयमै नियन्त्रणका उपाय नअपनाए आगामी वर्षायाममा थप क्षति हुन सक्ने उनीहरूको भनाइ छ ।

यसैगरी, छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानका कारण बस्ती जोखिममा परेका छन् । बाढीपहिरोले सिँचाइ तथा खानेपानी आयोजनामा पुर्‍याएको क्षतिको विवरणसमेत सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।