काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता र आणविक कार्यक्रम ध्वस्त पारिसकेको दाबी गर्दै अब एक–दुई वटा लक्ष्यमा मात्रै आक्रमण गर्न बाँकी रहेको बताएका छन्। बाँकी लक्ष्यमा ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थलसमेत रहेको उनले उल्लेख गरेका छन्।
शनिबार फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यदेखि सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए। यद्यपि, उनले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गरे।
अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहोर्याउँदै ट्रम्पले इरानको आणविक क्षमता नष्ट पारिसकेको दाबी गरे। उनले भने, ‘हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौँ। अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर त्यो काम हामी १० मिनेटमै गर्न सक्छौँ।’
ट्रम्पले ‘पिकएक्स माउन्टेन’ नामक स्थललाई पनि निशाना बनाउनुपर्ने बताएका छन्। उक्त स्थानमा भूमिगत आणविक संरचना रहेको आशङ्का गरिए पनि इरानले त्यहाँ कुनै पनि आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताएका छन्। उनले अमेरिकाले कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न चाहेको स्पष्ट पारे।
अर्कोतर्फ, अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेताले अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका छन्।
यसअघि ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्ने विषयमा आफूले विचार गरिरहेको बताएका थिए। पछिल्लो अभिव्यक्तिले मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सम्भावनालाई पुनः चर्चामा ल्याएको छ।






