धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुईवटा आकाशे पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
पुलमा अहिले रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको छ । ती काम सकिएलगत्तै सर्वसाधारणका लागि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ ।
मधेस प्रदेशमै पहिलोपटक निर्माण गरिएका यी आकाशे पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएका हुन् ।
सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुईवटा तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीनवटा आकाशे पुल निर्माणका लागि कुल १० करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।
तीमध्ये महेन्द्रनगरका दुईवटा पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए । उनका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । उक्त पुल मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि तीन करोड ३५ लाख, सखुवा चोकको पुलका लागि तीन करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि तीन करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । तीनवटै पुलको लागतमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश छ ।
दुईवटा निर्माण कम्पनीले पुल निर्माणको जिम्मा पाएका छन् । सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुल पाँच दशमलव छ मिटर अग्लो, २९ दशमलव चार मिटर लामो र तीन मिटर चौडा रहेको छ ।
पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम न्यूनीकरण हुने बताए । पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवागमन हुने गरेको उनको भनाइ छ ।
स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक वारपार गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेको बताए । क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहेका यादवले पुल सञ्चालनमा आएपछि बालबालिका, विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।






