नेपालको पर्यटन प्रवर्द्धन गर्न सात देशका कन्टेन्ट क्रिएटर नेपालमा

काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् ।

उनीहरूले नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, साहसिक पर्यटन तथा स्थानीय जीवनशैली समेटिएका भिडियो र डिजिटल सामग्री निर्माण गरी विश्वभरका दर्शकमाझ पुर्‍याउनेछन् ।

क्रिएटरमध्ये यूएई र ट्युनिसियाका तीन जना फ्लाई दुबईको उडानमार्फत सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरूलाई पर्यटन बोर्डले पोखरामा स्वागत गरेको थियो । अन्य क्रिएटरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

कार्यक्रमअन्तर्गत उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् । भ्रमणका क्रममा त्यहाँको प्राकृतिक वातावरण, संस्कृति, स्थानीय रहनसहन, वन्यजन्तु, पर्यटन व्यवसाय तथा साहसिक गतिविधिलाई समेटेर सामग्री तयार पार्नेछन् ।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार क्रिएटरहरूले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत सामग्री सार्वजनिक गरी नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गर्नेछन् ।

नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको अभियानमार्फत नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वसामु पुर्‍याउने लक्ष्य राखिएको छ ।

यस अभियानलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको बोर्डले जनाएको छ । यसअघि जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीनदिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो ।

भ्रमणमा सहभागी बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् ।

त्यस्तै, फ्रान्सका जेरेमी ब्युडेटले चितवनको वन्यजन्तु, निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटनलाई समेट्नेछन् । पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन् ।

भ्रमणका क्रममा क्रिएटरहरूले स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले प्राप्त गर्न सक्ने मौलिक अनुभवलाई समेत सामग्रीमा समेट्ने थपलियाले बताए ।

डिजिटल प्लेटफर्ममार्फत वास्तविक यात्रा अनुभव, आकर्षक दृश्य र व्यक्तिगत कथाहरू प्रस्तुत गर्दा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सहयोग पुग्ने पर्यटन बोर्डको विश्वास छ ।

विशेषगरी युवापुस्तामाझ लोकप्रिय टिकटकका छोटा भिडियोले नेपालका नयाँ पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्नुका साथै सम्भावित पर्यटकलाई भ्रमणको निर्णय लिनसमेत प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

बोर्डले अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटरसँगको सहकार्यबाट पोखरा, चितवन र बर्दियालगायतका पर्यटकीय गन्तव्यको विश्वव्यापी प्रचार हुनुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायले समेत लाभ लिन सक्ने विश्वास लिएको छ ।