बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर – दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको बड्कापथ सिँचाइ आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत सञ्चालन भइरहेको उक्त आयोजनाको मुहान राप्ती नदीमा साइड इन्टेक संरचना, १७ किलोमिटर मूल नहर र ५४ वटा साना–ठूला नहर संरचना निर्माण भइसकेका छन् ।

आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार दुई दशमलव ३७६ किलोमिटर शाखा नहर निर्माण र १४ दशमलव ५६९ किलोमिटर नहर लाइनिङको काम सम्पन्न भएको छ । त्यस्तै, चेनेज १५ हजार ९९० सम्मको निर्माण कार्य पूरा भएको छ ।

आयोजनाअन्तर्गत नौ दशमलव ५४५ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । हालसम्म ६१० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको छ, जहाँ किसानले रोपाइँसमेत गरेका छन् ।

बड्कापथ सिँचाइ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पाँच अर्ब ७० करोड ४० लाख रुपैयाँको तयार गरिएको छ । कार्यालयका लेखा अधिकृत नवराज वलीका अनुसार हालसम्म दुई अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबरको वित्तीय प्रगति भएको छ ।

आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु भएको यस आयोजनाबाट सात हजार परिवारका करिब ४५ हजार जनसङ्ख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

डिपीआरअनुसार आयोजनाअन्तर्गत ३० किलोमिटर मूल नहर, १३ वटा शाखा नहर र ५३ वटा प्रशाखा नहर निर्माण गर्ने लक्ष्य छ । गत आर्थिक वर्ष २०८२/८३ मा वार्षिक लक्ष्यअनुसार भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९९ दशमलव ८८ प्रतिशत हासिल भएको लेखा अधिकृत वलीले बताए ।

आगामी चरणका लागि चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म नहर तथा संरचना निर्माण गर्न ठेक्का सम्झौता भई काम भइरहेको छ । उक्त खण्डमा हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, चेनेज २२ हजार २०० देखि ३० हजारसम्मको निर्माण कार्य अघि बढाइएको छ ।

२८ ठेक्काको काम सम्पन्न

बड्कापथ सिँचाइ आयोजनाअन्तर्गत आर्थिक वर्ष २०६८/६९ मा इन्टेक निर्माणको पहिलो ठेक्का सम्झौता भएदेखि हालसम्म मुख्य निर्माण, मर्मत तथा बचावटसम्बन्धी ३१ वटा ठेक्का सम्झौता भएका छन् । तीमध्ये २८ वटा ठेक्काको काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

हाल दुईवटा ठेक्काको काम निर्माणाधीन अवस्थामा छ । मूल नहरको चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म नहर तथा संरचना निर्माणको काममा २० प्रतिशत भौतिक प्रगति भएको सूचना अधिकारी वलीले जानकारी दिए ।

त्यस्तै, गढवास्थित सबडिभिजन कार्यालय भवन निर्माणको काममा २६ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजना सम्पन्न भएपछि गढवा गाउँपालिकाका हजारौँ किसानलाई सिँचाइ सुविधा पुग्नुका साथै कृषि उत्पादन वृद्धि र स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।