रेडक्रसद्वारा राहत सामग्री वितरण

काभ्रे । गत कात्तिक १३ र १४ गते आएको बाढीबाट प्रभावित बेथानचोक गाउँपालिका–४, खहरेका सात परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेको छ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्री राजु सिग्देलले जानकारी दिए।

उनका अनुसार प्रभावित सातै परिवारलाई दैनिक जीवनयापनमा आवश्यक पर्ने त्रिपाल, म्याट्रेस, मन्डी, भाँडाकुँडा तथा लत्ताकपडा उपलब्ध गराइएको हो।

मन्त्री सिग्देलले विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताए।