काठमाडौं – भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीस्वरूप भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विषयमा छलफल हुने जनाइएको छ।
त्यसैगरी, दुई देशबीच रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।
दुईदिने भ्रमण पूरा गरी उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।





