राँझा (बाँके) । बाँकेमा यस वर्ष धान खरिदका लागि माग गरिएभन्दा आधा मात्रै कोटा निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल धान खरिद गर्न माग गरिएकोमा १० हजार क्विन्टलको मात्रै कोटा स्वीकृत गरेको हो ।
कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार गत वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरिएको थियो । उक्त कोटाअनुसार कार्यालयले सबै धान खरिद गरेको थियो । तर, पछिल्ला केही वर्षयता बाँकेमा धान खरिदको कोटा निरन्तर घट्दै आएको छ ।
निर्धारित कोटाले जिल्लाका किसानको धान खरिद गर्न कठिन हुने भएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको प्राथमिक खरिद समितिले पुनः २० हजार क्विन्टल धान खरिदका लागि केन्द्रीय कार्यालयसँग माग गर्ने निर्णय गरेको लामिछानेले बताए ।
कोटा वृद्धि भएर आएपछि प्राथमिक खरिद समितिको पुनः बैठक बसेर निर्णय गरी खरिद प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८२/०८३ मा १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम गरी २० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरिएको थियो । त्यसअघि आर्थिक वर्ष २०८१/०८२ मा ४० हजार क्विन्टल खरिदको लक्ष्य राखिएकामा नेपालगञ्ज कार्यालयले ३२ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको थियो ।
धान खरिदमा हुने ढिलाइ र कोटा अभावका कारण किसानले सरकारले तोकेको समर्थन मूल्यभन्दा कममा व्यापारीलाई धान बिक्री गर्नुपर्ने बाध्यता रहेको छ ।
कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । तर, व्यापारीले उक्त मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि एक हजार रुपैयाँसम्म कममा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ध्रुव थापाले बताए ।
यस वर्ष धान उत्पादन राम्रो भए पनि खाद्य कम्पनीले खरिद सुरु गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ नहुँदा किसान समस्यामा परेको उहाँको भनाइ छ ।
“चाडपर्वको खर्च जुटाउनुपर्ने भएकाले किसानले व्यापारीलाई सस्तोमै धान बेच्नुपरेको छ”, थापाले बताए।
खाद्य कम्पनीले समर्थन मूल्यमा धान खरिद गर्ने भए पनि ढिलो गरी खरिद सुरु गर्ने र प्रक्रिया झन्झटिलो हुने भएकाले किसानले प्रतिक्विन्टल ५०० देखि एक हजार रुपैयाँसम्म कम मूल्यमा व्यापारीलाई धान बेच्न बाध्य भएको उनले बताए ।






