काठमाडौं । सरकारले समाचार कक्षभित्रै प्रवेश गरेर प्रहरीले गरेको धरपकडबारे स्पष्टीकरण दिएको छ । सरकारले उक्त गतिविधि प्रहरीको आन्तरिक सूचना चुहावटबारे अनुसन्धान तथा सोधपुछ गर्नका लागि मात्रै गरिएको दाबी गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीको आन्तरिक सूचना कसरी बाहिरियो भन्ने विषयमा बुझ्न प्रहरीले सोधपुछ गरेको बताएका हुन् ।
उनका अनुसार प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने भ्रामक सूचना कहाँबाट सार्वजनिक भयो भन्नेबारे प्रहरीले तथ्य बुझ्न खोजेको थियो ।
‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भन्ने उदाहरणका रूपमा प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो भन्ने विषयमा प्रहरीले जाँचबुझ गरेको हो,’ उनले भने ।
प्रवक्ता पोखरेलले समाचार कक्षमा प्रहरी प्रवेश गरेको विषयमा सरकारको पूर्ण अनुमति नरहेको स्पष्ट पारे । उक्त घटनाबारे प्रधानमन्त्री र सरकारलाई पूर्वजानकारी नभएको उनको भनाइ छ ।
उनले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी हुनासाथ पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएको पनि बताए ।
‘कसैलाई गिरफ्तार गरेको वा नियन्त्रणमा लिएको भने होइन,’ प्रवक्ता पोखरेलले भने ।






