काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स कमजोर ब्याटिङ गर्दै ९७ रनमै समेटिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो ।
पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । उनले १७ बलमा २ छक्का प्रहार गरे । कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे ।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यस सिजन पहिलो खेल खेलिरहेका अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए । सदारा समिराविक्रमाले ७, अर्जुन घर्तीले ६, शाकिब अल हसनले ३ र बिपिन आचार्यले १ रन बनाए ।
बिपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै तिलक भण्डारीले ४ ओभरमा २२ रन दिँदै २ विकेट हात पारे ।
शेर मल्ल, अभिषेक गौतम र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए ।






