काठमाडौं । दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले इटालियन क्लब रोमालाई ३–२ गोलले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा युनाइटेड दबाबमा परेको थियो । रोमाका माटियास सौलेले ११औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको छ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल गरेपछि रोमाले २–० को अग्रता बनाएको थियो ।
तर दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ५८औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । पेनाल्टी क्षेत्रभित्र रोमाका खेलाडी प्रवेश गरेपछि दोहोर्याइएको पेनाल्टीमा फर्नान्डेसले गोल गरेका थिए ।
८३औँ मिनेटमा माथियस कुन्हाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ३–२ को अग्रता लियो ।
इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएपछि कुन्हा मैदानबाट बाहिरिए । त्यसपछि १० खेलाडीमा सीमित बनेको युनाइटेडले पनि अग्रता जोगाउँदै जित सुनिश्चित गर्यो ।
यस जितसँगै युनाइटेडले लगातार नौ खेलदेखिको जितविहीन शृङ्खलासमेत अन्त्य गरेको छ । दुई गोलले पछि परेको अवस्थामा घरेलु टोलीमाथि दबाब बढेको थियो । यसैबीच समर्थकहरूले क्लबको स्वामित्व र व्यवस्थापनविरुद्ध विरोध प्रदर्शनसमेत गरेका थिए ।
युनाइटेडका लागि मिडफिल्डर कार्लोस बालेबाको चोट अर्को चिन्ताको विषय बनेको छ । पहिलो हाफमै ह्यामस्ट्रिङमा चोट लागेपछि उनी मैदान छाड्न बाध्य भएका थिए ।
गएराति भएका अन्य खेलमा बार्सिलोनाले एस्टन भिल्लालाई ३–० गोलले पराजित गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भिलारियललाई ६–० ले हरायो । त्यस्तै, बायर्न म्युनिखले एट्लेटिको मड्रिडलाई २–० तथा इन्टर मिलानले फेयनोर्डलाई ३–० गोलले पराजित गरे ।






