काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर बुधबार बिहान काठमाडौं आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्धित भएका ३७ वर्षीय मिलरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
बायाँ हाते मध्यक्रमका ब्याटर मिलरले अन्तर्राष्ट्रिय क्रिकेटका साथै विश्वका विभिन्न प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छोडेका छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताहरूमा आफ्नो अनुभव बटुलिसकेका छन्। कर्णाली याक्सले यस सिजनको एनपीएलका लागि मिलरलाई टोलीमा समावेश गरेको हो।






