काठमाडौं । नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियासम्बन्धी विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै अपुष्ट र भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।
कम्पनीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय खरिद प्रक्रियालाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र प्राप्त गरी देशभर दूरसञ्चार सेवा प्रदान गर्दै आएको संस्था हो। कम्पनीले आफ्नो ऐतिहासिक पृष्ठभूमि, संस्थागत प्रतिष्ठा, जनविश्वास र ग्राहकको भरोसालाई महत्वपूर्ण सम्पत्तिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेको छ।
कम्पनीले प्रचलित ऐन, कानुन तथा सुशासनका स्थापित मूल्य र मान्यताअनुसार आफ्ना गतिविधि सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ। नागरिकलाई सस्तो, गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउनुका साथै देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित काम गरिरहेको जनाएको छ।
सहरी क्षेत्रदेखि देशका दुर्गम तथा विकट स्थानसम्म दूरसञ्चार सेवा विस्तार, नयाँ प्रविधिको अवलम्बन र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि कम्पनीले जनाएको छ।
खरिद प्रक्रियाका सम्बन्धमा कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी स्ट्यान्डर्ड बिड डकुमेन्टका आधारमा आवश्यक प्रक्रिया अपनाइने विज्ञप्तिमा स्पष्ट पारिएको छ।
कम्पनीको खरिद प्रक्रियालगायत विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक जानकारी आवश्यक परे प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता तथा सूचना तथा प्रकाशन शाखाबाट विवरण लिन सकिने पनि टेलिकमले जनाएको छ।
आधिकारिक तथ्य र विवरणका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्दै कम्पनीले आफ्नो प्रतिष्ठा, विकास र संस्थागत हित अभिवृद्धिमा सकारात्मक सहयोग गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा आधिकारिक सूचनाका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।






