गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम– मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गरेको आरोपमा १४ उद्योगी तथा व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमन र नमुना परीक्षणका क्रममा कैफियत भेटिएपछि उनीहरूविरुद्ध सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विमलकुमार दाहालका अनुसार मुद्दा दायर गरिएकामध्ये बारा र पर्साका आठ, सप्तरी र सिरहाका तीन, महोत्तरीका दुई तथा धनुषाका एक व्यवसायी छन् । उनीहरूविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

खाद्य स्वच्छता कायम नगर्ने, खाद्यवस्तुमा मिसावट गर्ने, स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामग्री उत्पादन तथा बिक्री गर्ने र म्याद गुज्रिएका वस्तु बिक्री गर्ने व्यवसायीमाथि मुद्दा दायर गरिएको प्रमुख दाहालले बताए ।

कार्यालयका अनुसार उक्त अवधिमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट खाद्य तथा दाना पदार्थ ऐन तथा नियमअनुसार १६४ वटा नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । तीमध्ये पाँचवटाको परीक्षण प्रतिवेदन प्रतिकूल आएको थियो ।

यसैगरी, खाद्य स्वच्छता कायम गराउने उद्देश्यले प्रदेशका विभिन्न जिल्लामा ६३२ वटा खाद्य व्यवसायमा संयुक्त अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ५६ खाद्य उद्योगमा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार १८ लाख २६ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

तीन महिनाको अवधिमा २०५ खाद्य तथा दाना उद्योग र १९५ होटल, रेस्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरिएको थियो । यस अवधिमा उपभोक्ताबाट प्राप्त २७ वटा उजुरीसमेत सम्बोधन गरिएको प्रमुख दाहालले जानकारी दिए ।

कार्यालयले सोही अवधिमा २६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको, ६८ उद्योगको अनुज्ञापत्र नवीकरण गरेको र ८४ नयाँ उद्योग स्थापनाका लागि सिफारिस गरेको छ ।

नमुना परीक्षण, अनुज्ञापत्र जारी तथा नवीकरण र उद्योग स्थापनाका लागि सिफारिसलगायतका कार्यबाट १६ लाख २४ हजार १० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा उपभोगका लागि अयोग्य खाद्यवस्तु जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको कार्यालयले जनाएको छ ।