सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

काठमाडौं । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (सिएसआरआई)ले बैंक, वित्तीय संस्था तथा बिमा क्षेत्र (बिएफएसआई)लाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।

वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला देखिएका नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयतासम्बन्धी चुनौती तथा नियमनकारी मापदण्डको पालना सुनिश्चित गर्ने उद्देश्यले अनुदान कार्यक्रम ल्याइएको सिएसआरआई नेपालले जनाएको छ ।

आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष डा. शालिग्राम पराजुलीले अनुसन्धान संस्था, नियमनकारी निकाय र वित्तीय क्षेत्रबीच त्रिपक्षीय सहकार्यलाई मजबुत बनाउँदै नेपाललाई सुरक्षित, नैतिक र सबल एआई प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

उनका अनुसार वित्तीय क्षेत्रमा अत्याधुनिक एआई सुरक्षा प्रणाली विकास गर्ने, नेपालमै दिगो अनुसन्धान तथा विकास (आर एण्ड डी) को वातावरण तयार गर्ने र अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गरी वित्तीय जोखिम न्यूनीकरण गर्ने अनुदान कार्यक्रमको मुख्य उद्देश्य हो ।

उनले अनुसन्धान अनुदानले वित्तीय क्षेत्रका चार प्रमुख आयामलाई प्राथमिकता दिएको जानकारी दिए ।

कार्यक्रमअन्तर्गत डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल पहिचान चोरी रोकथाम तथा स्वचालित वित्तीय कारोबारलाई सुरक्षित बनाउन उन्नत एआई मोडेल विकास गरिनेछ ।

‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ को अवधारणात्मक ढाँचा सिएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी, सिएआरई नेपालका वरिष्ठ उपाध्यक्ष प्राडा गजेन्द्र शर्मा, सचिवद्वय सरला कार्की र बन्दना शर्मा, कार्यसमिति सदस्य शान्तिकला सुवेदी तथा सदस्य सङ्गम न्यौपानेले संयुक्त रूपमा तयार पारेका हुन् ।