फ्रान्समा वर्षौँपछिकै ठुलो प्रदर्शन, पाँच लाख ७५ हजारभन्दा बढी सडकमा

पेरिस । फ्रान्समा बढ्दो महँगी, आर्थिक असमानता र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बिहीबार देशभर व्यापक प्रदर्शन भएको छ । फ्रान्सेली सरकारका अनुसार प्रदर्शनमा पाँच लाख ७५ हजारभन्दा बढी मानिस सहभागी भएका छन् । गत सेप्टेम्बरदेखि सुरु भएको आन्दोलनयता एकै दिनमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो ।

राष्ट्रव्यापी हडतालसँगै सुरु भएको प्रदर्शनमा विद्यार्थी, शिक्षक, मजदुर, स्वास्थ्यकर्मी, यातायात क्षेत्रका कर्मचारी तथा पहेँलो भेस्ट आन्दोलनका समर्थक सहभागी भएका थिए । उनीहरूले बढ्दो जीवनयापन खर्च नियन्त्रण, आर्थिक असमानता न्यूनीकरण तथा राजनीतिक र सामाजिक परिवर्तनको माग गरेका छन् ।

प्रदर्शनका क्रममा केही सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भए पनि अघिल्ला प्रदर्शनको तुलनामा बिहीबारको अवस्था केही शान्त रहेको बताइएको छ । फ्रान्सको गृह मन्त्रालयका अनुसार रेनेस, नान्टेस, लियोन र मार्सेईलगायत सहरमा झडप भएका छन् । प्रहरीले देशभरबाट ४४८ जनालाई पक्राउ गरेको छ ।

लियोनमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेको थियो । रेनेसमा एउटा होटलमा तोडफोड हुनुका साथै प्रहरीमाथि विभिन्न वस्तु प्रहार गरिएको थियो । त्यस्तै, टुलुज नजिकैको एउटा विद्यालयमा आगजनी हुँदा ठूलो क्षति पुगेको छ । गृह मन्त्रालयका अनुसार देशभर ८६ स्थानमा आगलागीका घटना भएका छन् ।

हडतालका कारण करिब एकतिहाइ उच्च शैक्षिक संस्था प्रभावित भएका छन् भने विद्यालयका करिब १३ प्रतिशत कर्मचारी आन्दोलनमा सहभागी भएका छन् । रेल सेवा पनि प्रभावित भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालका करिब पाँच प्रतिशत कर्मचारी मात्रै हडतालमा सहभागी भएकाले स्वास्थ्य सेवा भने खासै प्रभावित भएन ।

श्रमिक सङ्गठनहरूले न्यूनतम पारिश्रमिक र पेन्सन वृद्धि गर्न माग गरेका छन् । सीजीटीले न्यूनतम पारिश्रमिक तत्काल १० प्रतिशत बढाउनुपर्ने माग राखेको छ भने सीएफडीटीले मासिक न्यूनतम पारिश्रमिकमा १०० युरो वृद्धि गर्नुपर्ने बताएको छ ।

त्यस्तै, विद्यार्थी सङ्गठनहरूले शिक्षा बजेटमा १० अर्ब डलरभन्दा बढी थप गर्न, विद्यालयका पूर्वाधारमा १.५ अर्ब डलर लगानी गर्न तथा विश्वविद्यालयमा दुई लाख ५० हजार नयाँ भर्ना स्थान थप गर्न माग गरेका छन् ।

यसैबीच, पहेँलो भेस्ट आन्दोलनकारीहरूले राष्ट्रपति इमानुएल म्याक्रों र उनको सरकारको बहिर्गमनसँगै नयाँ संवैधानिक प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका छन् । उनीहरूले क्रिसमससम्म र आवश्यक परे आगामी वसन्तमा हुने राष्ट्रपतीय निर्वाचनसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

पहेँलो भेस्ट आन्दोलनकारीहरूले शुक्रबार र शनिबार पनि विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।