सङ्कटमा मादल बनाउने पेसा

ओखलढुङ्गा – मादल बनाउने दक्ष कालीगढको अभाव र कच्चा पदार्थको उपलब्धता घट्दै जाँदा ओखलढुङ्गाको स्थानीय बजारमा नयाँ मादल पाउन मुस्किल हुन थालेको छ । कुनै समय तिहार नजिकिँदै गर्दा नयाँ मादल बनाउने र पुराना मादल मर्मत गर्ने कामले भ्याइनभ्याइ हुने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा बस्न बाध्य छन् ।

मादल बनाउने परम्परागत पेसा सङ्कटमा पर्न थालेपछि यसको असर उत्पादन र कालीगढको आम्दानीमा समेत परेको छ । दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थको कमी, मादलको घट्दो प्रयोग र नयाँ पुस्ताको अन्य पेसाप्रतिको आकर्षणले यो पेसा क्रमशः लोप हुने अवस्थामा पुगेको छ ।

ओखलढुङ्गाको ठूलाछापका नीरकाजी बिशङ्खेले विगत ५६ वर्षदेखि मादल बनाउने र मर्मत गर्ने काम गर्दै आएका छन् । कुनै समय तिहार उनको सबैभन्दा व्यस्त सिजन हुने गर्थ्यो । नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्न आउने ग्राहकको चापले उनलाई फुर्सद मिल्दैनथ्यो । तिहारको समयमा सयौँ मादल बनाउने तथा मर्मत गर्ने गरेको उनको अनुभव छ ।

तर अहिले अवस्था फेरिएको छ । यस वर्ष तिहारको समयमा समेत उनीसँग मर्मतका लागि मुस्किलले केही थान मादल मात्रै आएका छन् । नयाँ मादल बनाउने कामसमेत लगभग बन्द भएको छ ।

“पहिले मादलको काम मनग्यै हुन्थ्यो । अहिले मादल खासै छैनन् । नयाँ मादल पनि बनाउने गरेको छैन,” नीरकाजी भन्छन्, “आफ्नो मेहनत नउठेपछि नयाँ मादल बनाउनै छाड्यौँ । अहिले पुराना मादल मर्मत गरेर बसिबियाँलो गर्दैछु ।”

नीरकाजीका अनुसार पहिले तिहारको सिजनमा मादल बनाउने र मर्मत गर्ने कामबाट डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो । कुनै समय दुईदेखि तीन लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनी सम्झन्छन् । तर मादलको माग घट्दै गएपछि आम्दानी पनि खुम्चिएको छ ।

पोहोरसम्म ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकामा यस वर्ष त्योभन्दा निकै कम भएको छ । अहिले मादलको कामबाट हुने आम्दानी २५ देखि ३० हजार रुपैयाँमा सीमित भएको उनको भनाइ छ । ठूलाछापमा मादल बनाउने चार–पाँच घर भए पनि सबैको अवस्था उस्तै छ । नयाँ मादल बनाउनेभन्दा पुराना मादल मर्मत गर्ने काम बढी भइरहेको छ ।

मादल मर्मत गर्दा खरी मात्रै लगाएको दुई हजार रुपैयाँ, दुवैपट्टि ताल फेरेको चार हजार रुपैयाँ र एकपट्टि मात्रै फेरेको तीन हजार रुपैयाँ लिने गरेको नीरकाजी बताउँछन् ।

मादल बनाउने पेसा कमजोर बन्दै जानुमा कच्चा पदार्थको अभाव पनि प्रमुख कारण बनेको छ । मादल बनाउन आवश्यक काठ र गाईगोरु, राँगा तथा बाख्राको छाला सहजै पाउन छाडिएको कालीगढहरूको भनाइ छ । सामुदायिक वनमा काठ काट्न नपाइने तथा गाउँमा गाईगोरुको सङ्ख्या घट्दै जाँदा आवश्यक सामग्री जुटाउन कठिन भएको छ ।

पहिले गाउँमै गाईगोरु पाइने भएकाले छालाको व्यवस्था गर्न सहज थियो । अहिले छाला पाउन मुस्किल भएपछि राँगा र बाख्राको छाला मिलाएर काम चलाउनुपर्ने अवस्था आएको छ । सामग्री जुटाउनै कठिन हुने र मेहनतअनुसार आम्दानी नहुने भएपछि कालीगढ नयाँ मादल उत्पादन गर्न हिचकिचाउन थालेका छन् ।

मादल बनाउने पेसामा आएको सङ्कट नीरकाजीको मात्रै अनुभव होइन । ८० वर्षीय कालीबहादुर विशङ्खेले पनि १२ वर्षको उमेरदेखि मादल बनाउँदै आएका छन् । बाल्यकालमा सिकेको सीपलाई उनले जीवनभर निरन्तरता दिए । तर अहिले उनको पेसा पनि संकटमा परेको छ ।

कालीबहादुरका अनुसार पहिले तिहारको समयमा २० देखि २२ वटासम्म नयाँ मादल बनाउने गर्थे । मादल बिक्री नभए अर्को हप्ता बजार लगेर बेच्ने गरिन्थ्यो । नयाँ मादल किन्ने र पुराना मर्मत गर्ने ग्राहकको चाप उत्तिकै हुन्थ्यो ।

तर अहिले नयाँ मादल बनाउने काम लगभग बन्द भएको छ । उनले बिक्री हुने आशामा बनाएका केही मादल घरमै थन्क्याएर राखेका छन् ।

“अहिले नयाँ मादल बनाएकै छैन । तीनवटा साना मादल बनाएर राखेको छु,” उनी भन्छन्, “बिक्री भए त हुन्थ्यो, नभए दुःख मात्रै हुन्छ ।”

पुर्खाबाट सिकेको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु पनि यो पेसा सङ्कटमा पर्नुको अर्को कारण हो । बुबा र बाजेले मादल बनाएको देखेर सीप सिकेका धनबहादुर बैराङ्गी सार्कीका सन्तानले भने यो पेसालाई निरन्तरता दिएका छैनन् ।

पहिले परिवारमै सीप सिक्ने र पुस्तान्तरण हुने गरे पनि अहिले नयाँ पुस्ता गाउँमा बस्न नचाहने र रोजगारी तथा अवसरको खोजीमा बाहिरिने क्रम बढेको उनको अनुभव छ ।

“बाबुबाजेले गरे, त्यही काममा हामीले पनि सिक्यौँ,” उनी भन्छन्, “अहिले छोराछोरी अलिकति हुर्केपछि बाहिरतिर हिँडिहाल्छन् । यो काममा हात लगाउँदैनन् ।”

पढाइलेखाइ धेरै नभएकाले पुर्खाको पेसालाई नै आफ्नो जीविकोपार्जनको आधार बनाएको धनबहादुर बताउँछन् । खेतीपातीसँगै मादल बनाउने काम गर्दै आएका उनी अहिले नियमित काम नपाउँदा समस्यामा छन् ।

पहिले दैनिक आम्दानी हुने गरेकोमा अहिले महिनामा दुई–तीन दिन मात्रै काम पाउने अवस्था रहेको उनको भनाइ छ । काम पाएको दिन पाँच सयदेखि एक हजार रुपैयाँसम्म कमाइ भए पनि नियमित काम नहुँदा परिवार चलाउन कठिन भएको छ । तिहारको समयमा मादल मर्मत गरेर पाँचदेखि सात हजार रुपैयाँसम्म आम्दानी हुने गरे पनि त्यसका लागि ग्राहक आउनुपर्ने उनको भनाइ छ ।

मादलको प्रयोग घट्दै जानुमा आधुनिक प्रविधिको विस्तारलाई पनि कालीगढहरूले मुख्य कारण मानेका छन् । पहिले चाडपर्व, उत्सव तथा अन्य रमाइला अवसरमा गाउँघरमा मादल बजाउने चलन थियो । मादलको तालमा गीत गाउने र नाचगान गर्ने परम्परा थियो । तर अहिले डेक र मोबाइलबाट गीतसङ्गीत बजाउने चलन बढेपछि मादलको प्रयोग र माग दुवै घटेको उनीहरूको अनुभव छ ।

ठूलाछापकै लगने सार्कीले पनि मादल बनाउने पेसामा आएको परिवर्तनलाई नजिकबाट अनुभव गरेका छन् । उनका अनुसार कुनै समय उनको घरमा मात्रै होइन, वरपरका १२ देखि १४ जनासम्म मानिस मादल बनाउने काममा संलग्न हुन्थे । तिहारको समयमा दुई सातासम्म कामको चाप हुने गर्थ्यो । अहिले भने ग्राहक नै आउन छाडेका छन् ।

“पहिले लाखभन्दा बढी कमाइ हुन्थ्यो । अहिले मान्छे नै आउँदैनन् । बजारमा लगेर के गर्नु ? गाडीभाडा खर्च गरेर लगे पनि बिक्री हुँदैन,” उनी भन्छन् ।

स्थानीय कालीगढले बनाएका मादललाई बजारमा अनलाइनमार्फत आउने मादलले समेत प्रतिस्पर्धामा पारेको उनको भनाइ छ । बजारमा आकर्षक देखिने मादल उपलब्ध भए पनि स्थानीय कालीगढले बनाउने मादलको खरीको आवाज र गुणस्तर फरक हुने उनको दाबी छ ।

उनका अनुसार मादलको वास्तविक र मीठो आवाज निकाल्न खरी लगाउने सीप महत्त्वपूर्ण हुन्छ । खरी लगाउने र त्यसलाई मिलाउने काम अनुभव र दक्षतामा निर्भर रहने भएकाले यो सीप सजिलै सिक्न सकिँदैन ।

समग्रमा मादल बनाउने पेसा सङ्कटमा पर्नुका पछाडि घट्दो माग, आधुनिक विद्युतीय उपकरणको बढ्दो प्रयोग, कच्चा पदार्थको अभाव, अनलाइन बजारबाट आउने मादलसँगको प्रतिस्पर्धा र नयाँ पुस्ताको अन्य पेसाप्रतिको आकर्षण मुख्य कारणका रूपमा देखिएका छन् ।

कालीगढका लागि मादल बनाउनु केवल आम्दानीको माध्यम मात्र होइन, पुर्खाबाट प्राप्त सीप र पहिचान पनि हो । तर यही पेसाबाट परिवारको जीविकोपार्जन गर्न कठिन हुँदै गएपछि उनीहरू वैकल्पिक काम खोज्न बाध्य छन् ।

मादल नेपाली लोकसंस्कृति, चाडपर्व र परम्परासँग जोडिएको महत्त्वपूर्ण बाजा हो । तर यसको संरक्षण र उत्पादनमा संलग्न कालीगढकै पेसा सङ्कटमा पर्दै गएको छ । कुनै समय तिहारमा कामको चाप थेग्न नसक्ने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा छन् ।

यही अवस्था कायम रहे मादल बनाउने पेसा मात्रै होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपसमेत हराउने जोखिम बढेको छ । त्यसैले मादलको प्रयोग र बजार प्रवर्द्धनसँगै कालीगढलाई आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा नयाँ पुस्तालाई यो सीप सिकाउनेतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।