काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस हारेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।
आजको खेलका लागि कर्णालीले टोलीमा दुई परिवर्तन गरेको छ। जिशान आलमको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङले पहिलो रोजाइमा स्थान बनाएका छन्। यससँगै मिलरले एनपीएलमा डेब्यू गर्ने भएका छन्।
यता, सुदूरपश्चिमले भने टोलीमा एक परिवर्तन गरेको छ। शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेले मौका पाएका छन्।
यस संस्करणमा कर्णाली याक्सले राम्रो सुरुवात गरेको छ। टोलीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको थियो। तर, तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग ४ विकेटले पराजित भएको कर्णाली आजको खेल जित्दै पुनः लयमा फर्कने लक्ष्यमा छ।
डेभिड मिलरको आगमनले कर्णालीको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सको प्रदर्शन भने उतारचढावपूर्ण रहँदै आएको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।
त्यसपछि वर्षाका कारण प्रभावित खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको सुदूरपश्चिमले पछिल्लो खेलमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै पुनरागमन गरेको थियो।
चार खेलबाट समान ४ अंक जोडेको दुवै टोली आजको खेलमा जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।






