२० कात्तिक। नेपाल धितोपत्र बोर्डले भेटेरिनरी औषधि उत्पादन गर्ने कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ। बोर्डबाट अनुमति पाएसँगै कान्तिपुर फर्मास्युटिकल्स आईपीओ जारी गर्ने अनुमति पाउने पहिलो भेटेरिनरी औषधि उत्पादक कम्पनी बन्ने भएको छ।
बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्नेछ।
कुल निष्कासन हुने सेयरमध्ये १७ लाख कित्ता सर्वसाधारण समूहका लागि छुट्याइएको छ भने बाँकी ६३ लाख कित्ता संस्थापक समूहको रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ।
कान्तिपुर फर्मास्युटिकल्सको अध्यक्षमा ऋषि बडाल (हेमराज बडाल) रहेका छन् भने कम्पनीको प्रबन्ध निर्देशकको जिम्मेवारी नवराज पौड्यालले सम्हाल्दै आएका छन्।






