काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको भन्दा सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गर्दै आएका एक युवकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का २८ वर्षीय सुनज तामाङ रहेका छन् । उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजधानीका विभिन्न स्थानमा डलर देखाएर लुटपाट भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तामाङलाई पक्राउ गर्न खोजेको थियो । सो क्रममा उनले प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि प्रहरीले गोली चलाएको काठमाडौँका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा आक्रमणमा उत्रिएपछि सुरुमा चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरिएको थियो । त्यसपछि पनि नियन्त्रणमा नआएपछि परिस्थितिको मूल्याङ्कन गरी घुँडामुनि एक राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
डलर देखाएर ठगी तथा लुटपाट गरेको आरोपमा तामाङ यसअघि पनि आठ पटक पक्राउ परिसकेको खुलेको छ । पछिल्लो अनुसन्धानमा उनले स्वयम्भू, बूढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाएर रकम लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङले विभिन्न स्थानका गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलको निगरानी गर्ने गरेका थिए । ती व्यवसायको सम्पर्क नम्बर संकलन गरी पुरानो चिनजान भएको बहाना बनाउँदै सञ्चालकलाई फोन गरेर विश्वासमा पार्ने र त्यसपछि लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी, पीडितलाई विश्वास दिलाउन उनको समूहका अर्का व्यक्तिले बोल्न नसक्ने व्यक्तिको भूमिका निर्वाह गर्ने र ठगिने व्यक्तिलाई डलर दिएर पठाउने गरेको पाइएको छ । प्रहरीको निगरानीबाट बच्न उनीहरूले पटकपटक स्थान परिवर्तन गर्ने र सीसीटीभी नभएका ठाउँमा लगेर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले तामाङको साथबाट ठगीमा प्रयोग गरिएको मोटरसाइकल, नक्कली नम्बर प्लेट, नेपाली रुपैयाँका २० दरका चार बण्डल, अमेरिकी डलरजस्तो आकारमा काटेर राखिएको सेतो कागजको बण्डल तथा त्यसको माथि र तल राखिएका पाँच दरका अमेरिकी डलर बरामद गरेको छ । त्यस्तै, एक किलो तौलको नक्कली सुनको ढिक्का पनि फेला परेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रहरीका अनुसार तामाङले पछिल्लोपटक गत असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारमा दुई जनालाई ठगी गरी जनही आठ लाख रुपैयाँका दरले कुल १६ लाख रुपैयाँ लुटेर फरार भएका थिए ।
गैरकानुनी डलर सटहीको प्रलोभनमा नपर्न प्रहरीको आग्रह
प्रहरीले गैरकानुनी रूपमा अमेरिकी डलरलगायत विदेशी मुद्रा सटही गर्ने कार्य आपराधिक गतिविधि भएको जनाएको छ । यस्तो कार्यमा संलग्न जोकोही कानुनी कारबाहीको भागीदार हुने भन्दै प्रहरीले कम दरमा डलर साटिदिने प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।






