काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।
कर्णालीका लागि डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । जारी प्रतियोगितामा मिलरको यो अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो । दीपक डुम्रेले १८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कर्णालीले सुरुवातमै लगातार विकेट गुमाएको थियो । पहिलो ओभरको दोस्रो बलमै अरिफुल इस्लामलाई शून्य रनमा गुमाएको कर्णालीले ३.२ ओभरभित्रै दुवै ओपनरलाई गुमायो । मार्क वाटले ९ बलमा चार रनमात्र बनाउन सके ।
पावरप्लेमा तीन विकेट गुमाएको कर्णालीले ६ ओभरमा ३५ रन बनाएको थियो । पवन सर्राफ पाँच रनमा आउट भए भने हुसैन तलातले एक रनमात्र जोड्न सके । १० ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ५० रन बनाएको कर्णालीलाई जितका लागि बाँकी १० ओभरमा निकै ठूलो रनरेट आवश्यक थियो ।
कप्तान सोमपाल कामी पनि आठ रनमा आउट भए । उनी अभिनाश बोहराको बलमा छक्का प्रहार गर्ने प्रयासमा क्याच आउट भएका थिए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, अनिल खरेल, हेमन्त धामी, अभिनाश बोहरा र थारिन्दु रत्नायकेले समान एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
सुदूरपश्चिमका ओपनर विनोद भण्डारी र सैफ जैबले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । भण्डारी २७ रनमा रनआउट भए भने जैबले ३५ रन बनाए ।
त्यसपछि ब्याटिङमा आएका कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा रनआउट भए । ब्रेन्डन म्याकमुलनले २४ तथा ईशान पाण्डेले २३ रनको योगदान दिए ।
अन्तिमतिर थारिन्दु रत्नायकेले २२ रनमा अविजित रहँदै टोलीको स्कोर उकासे । स्कट कुगलेइनले पनि अविजित १३ रन बनाए ।
कर्णालीका मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ र हुसैन तलातले समान एक–एक विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो प्रदर्शनमा सुधार गरेको छ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो । त्यसपछि पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको टोली तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको थियो । चौथो खेलमा चितवन राइनोजलाई पाँच विकेटले हराएको थियो ।
यता कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमान्डु गोर्खाजसँग चार विकेटले हारेको थियो ।






