काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले पहिलो हार बेहोरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी काठमाडौँ गोर्खाजसँग ३६ रनले पराजित भएको हो ।
काठमाडौँले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए । अभिषेक गौतमले १६, निरोशन डिकवेलाले १४ तथा रुबेन ट्रम्पलमानले ११ रन जोडे ।
लुम्बिनीको ब्याटिङ ध्वस्त पार्ने क्रममा काठमाडौँका जहानदाद खानले सर्वाधिक चार विकेट लिए । करण केसीले दुई विकेट हात पार्दा सन्तोष यादव, शाहब आलम, राशिद खान र सहान अरच्चिगेले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो । काठमाडौँका ओपनर डेभिड वार्नर र साहिल पटेलले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । पावरप्लेमा काठमाडौँले ४५ रन जोडेको थियो ।
वार्नरले सर्वाधिक ६६ रन बनाए भने साहिल पटेलले ३८ रनको योगदान दिए । त्यस्तै सहान अरच्चिगेले आक्रामक ब्याटिङ गर्दै ३४ रनमा अविजित रहे ।
बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमान, शेर मल्ल र अभिषेक गौतमले समान दुई–दुई विकेट लिए ।
यस जितसँगै चार खेल खेलेको काठमाडौँ गोर्खाजले तेस्रो जित निकालेको छ भने लुम्बिनीले प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।





