मध्यपुर अस्पतालको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणका लागि २० प्रतिशत शेयर निष्कासनको तयारी

भक्तपुर। मध्यपुर अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ। अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. रविना प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण पारित गरेको छ।

सञ्चालक समिति सदस्य डा. रविन्द्र भक्त प्रधानाङ्गको स्वागत मन्तव्यबाट सुरु भएको सभामा अध्यक्ष डा. रविना प्रधानाङ्गले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, सञ्चालक समिति सदस्य एवं आर्थिक प्रशासन निर्देशक डा. हरिप्रसाद सुवालले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण तथा वित्तीय अवस्थाबारे जानकारी गराउनुभएको थियो।

सभाले प्रस्तुत प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको जनाइएको छ।

सभामा सर्वसाधारणका लागि कम्पनीको अधिकृत पुँजीको २० प्रतिशत शेयर निष्कासन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गराइएको थियो। शेयर निष्कासनपछि सर्वसाधारणलाई अस्पतालको लगानीमा सहभागी हुने अवसर प्राप्त हुनेछ।

अस्पतालले गत आर्थिक वर्षमा ६१ हजार १९८ जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जनाएको छ। १०० शय्याको क्षमतामा सञ्चालन भइरहेको मध्यपुर अस्पताल भक्तपुर जिल्लामा एमआरआई सेवा उपलब्ध गराउने एक मात्र अस्पतालका रूपमा रहेको छ।

हाल अस्पतालमा ३०४ जना कर्मचारी कार्यरत छन्। स्वास्थ्य सेवाको विस्तारसँगै अस्पतालले आफ्नै स्वामित्वमा श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्सेससमेत सञ्चालन गर्दै आएको छ।

साधारण सभामार्फत अस्पतालले आफ्नो सेवा विस्तार, वित्तीय अवस्था र आगामी योजनाबारे जानकारी गराएको छ।