काठमाडौँ महानगरद्वारा तोकिएका ३३ स्थानमा स्वदेशी फूलको बिक्री सुरु

काठमाडौं: काठमाडौँ महानगरपालिकाले तोकेका ३३ वटा स्थानमा स्वदेशी फूलको बिक्री वितरण सुरु भएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले फूल बिक्रीका लागि विभिन्न स्थानहरू निर्धारण गरेको हो।

स्वयम्भू भगवान पाउ क्षेत्रमा बिहानैदेखि फूल व्यापारी र खरिदकर्ताहरूको चहलपहल देखिएको छ। महानगरले स्वदेशी फूलको प्रवर्द्धन गर्ने र किसानलाई बजारको पहुँच पुर्‍याउने उद्देश्यले यस्तो व्यवस्था मिलाएको जनाएको छ। स्वदेशी उत्पादनले नै बढ्दो माग धान्ने महानगरको अपेक्षा छ।

यसैबीच, महानगरले प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) बमोजिम नेपालभर प्लाष्टिकका मालाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न निषेध गरिएको भन्दै महानगरले सूचना जारी गरेको छ। विगतका वर्षहरूदेखि नै यस्ता वस्तुहरूको आयात र बिक्रीमा रोक लगाउँदै आएको महानगरले जनाएको छ।