काठमाडौं। नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा तिहार विशेष रैथाने मेला सुरु भएको छ।
सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा आजदेखि तीनदिने मेला आयोजना गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा सञ्चालन गरिएको मेलाको मुख्य उद्देश्य स्थानीय उत्पादनको बजारीकरण, साना उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षण गर्नु रहेको छ।
मेलामा कृषक, कृषक समूह, कृषि सहकारी, महिला तथा युवा उद्यमी र स्थानीय उत्पादकले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न स्टल राखेका छन्।
मेलामा तिहारका परम्परागत परिकार तथा खाद्य सामग्री, फूलमाला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकला, माटाका भाँडाकुँडा, रैथाने बाली तथा कृषि उपजलगायत स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको छ।
स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजारीकरणमार्फत कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्नुका साथै महिला र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य छ। साथै, स्वदेशी उत्पादनको उपभोग बढाउँदै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
सरकारले आगामी दिनमा पनि साताको दुई दिन सार्वजनिक बिदाको समय सदुपयोग गर्दै सप्ताहान्तमा यस्ता मेला तथा बजार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। यसै अभ्यासलाई देशका ७७ वटै जिल्लामा विस्तार गरी स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने सरकारको लक्ष्य रहेको छ।






