रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

काठमाडौं । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित वित्तीय क्षेत्रको पुनर्स्थापनाका लागि ६५ अर्ब २१ करोड ५७ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो ।

आयोगको मूल्यांकनअनुसार बाढीबाट सार्वजनिक र निजी क्षेत्र दुवैतर्फ ठूलो क्षति पुगेको छ । सार्वजनिक क्षेत्रमा २३ करोड ५० लाख रुपैयाँ बराबरको हानि भएको छ भने निजी क्षेत्रमा ११ करोड २० लाख रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ । त्यस्तै, सार्वजनिक क्षेत्रको नोक्सानी ६१ अर्ब ८४ करोड र निजी क्षेत्रको दुई अर्ब ८४ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका अनुसार सार्वजनिक क्षेत्रको कुल हानि–नोक्सानी तीन अर्ब सात करोड ५५ लाख र निजी क्षेत्रको ६१ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ बराबर रहेको छ ।

बाढीका कारण बैंकिङ क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा रहेका १२ वटा बैंकका १७ शाखामध्ये १५ वटा शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा शाखामा आंशिक क्षति पुगेको छ ।

नेपाल बैंकर्स संघका अनुसार प्रभावित शाखाहरूमा ७८ हजार २०४ जना निक्षेपकर्ता रहेका थिए । ती बैंकका नौवटा एटीएममा एक करोड १६ लाख ६३ हजार रुपैयाँ नगद थियो । त्यस्तै, बैंकका भल्टमा १७ करोड २४ लाख र नगद काउन्टरमा एक करोड १७ लाख रुपैयाँ रहेको थियो ।

प्रभावित क्षेत्रका बैंकमध्ये कृषि विकास बैंकमा मात्रै लकर सुविधा थियो । बाढीले उक्त बैंकको लकरसमेत क्षतिग्रस्त बनाएको छ । त्रिशूली शाखामा रहेका ६४ वटा लकर बक्समा ग्राहकले राखेका सामानमा समेत क्षति पुगेको थियो ।

लकरमा राखिएका सामग्रीको बीमा नहुने भएकाले त्यसबाट भएको क्षति ग्राहक स्वयंले बेहोर्नुपर्ने अवस्था छ । लकरमा के–कस्ता सामग्री राखिएका थिए भन्ने विवरण बैंकसँग नहुने भएकाले त्यसको क्षति मूल्यांकनमा समावेश गरिएको छैन । यद्यपि, सुन धितोमा राखेर प्रवाह गरिएको कर्जाको हकमा भने बीमा हुने व्यवस्था छ ।

बाढी प्रभावित बैंक शाखामा दुई हजार १२५ जना ऋणी रहेका थिए । संघका अनुसार ती बैंकले प्रभावित क्षेत्रमा जलविद्युत् क्षेत्रबाहेक दुई अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । त्यस्तै, शाखाहरूमा कुल चार अर्ब ५० करोड रुपैयाँ निक्षेप रहेको थियो ।

बाढीबाट सबैभन्दा बढी क्षति कृषि विकास बैंकमा पुगेको छ । बैंकको त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

प्रभावित बैंकहरूमा कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र सानिमा बैंकका एक–एक शाखा रहेका छन् ।

त्यस्तै, प्रभु बैंकका दुई तथा एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन–तीन शाखामा क्षति पुगेको छ ।

बाढीले लघुवित्त तथा सहकारी क्षेत्रमा समेत नोक्सानी पुर्‍याएको छ । यसका अतिरिक्त प्रभावित बैंकका २६ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।