तनहुँमा दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छीको बीमा

तनहुँ । पशुधनमा हुनसक्ने जोखिम न्यूनीकरण गर्दै पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले तनहुँमा पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस कार्यक्रमअन्तर्गत जिल्लामा दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अनुसार जिल्लामा गाई, भैँसी, बाख्रा, बङ्गुर, कुखुरा, माछा तथा घोडा–खच्चर गरी कुल दुई लाख ६१ हजार ११२ वटाको बीमा गरिएको हो।

कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार बीमा गरिएका पशुधनमध्ये सबैभन्दा धेरै कुखुरा छन्। त्यसपछि माछा, बाख्रा, गाई, भैँसी, बङ्गुर र घोडा–खच्चरको बीमा गरिएको छ।

बीमा गरिएका सम्पूर्ण पशुधनको कुल बीमित मूल्य ६८ करोड ९३ लाख ४२ हजार ४२८ रुपैयाँ पुगेको छ। यसका लागि तीन करोड २२ लाख ९३ हजार ८९० रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानले ६४ लाख ५० हजार ७७९ रुपैयाँ व्यहोरेका छन्।

कार्यालयका अनुसार जिल्लामा एक लाख ५२ हजार १४७ कुखुराको बीमा गरिएको छ। कुखुराको बीमित मूल्य १० करोड ४५ लाख ९० हजार ६८१ रुपैयाँ रहेको छ। यसका लागि ३० लाख पाँच हजार १३३ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा छ लाख एक हजार २७ रुपैयाँ रहेको छ।

त्यस्तै, ९८ हजार ५०० माछाको बीमा गरिएको छ। माछाको बीमित मूल्य २५ लाख २४ हजार रुपैयाँ रहेको छ। यसका लागि ७५ हजार ७२० रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानले १५ हजार १४४ रुपैयाँ तिरेका छन्।

यसैगरी, जिल्लामा चार हजार ९१ गाईको बीमा गरिएको छ। ती गाईको बीमित मूल्य ३० करोड ९६ लाख ५२ हजार रुपैयाँ रहेको छ। गाईको बीमाबापत एक करोड ५६ लाख ६९ हजार ४९४ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानले ३१ लाख ३३ हजार ८०० रुपैयाँ व्यहोरेका छन्।

एक हजार ९७० भैँसीको बीमा गरिएको छ। ती भैँसीको बीमित मूल्य १५ करोड १७ लाख १४ हजार रुपैयाँ रहेको छ। यसका लागि ७५ लाख ४५ हजार ३९६ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानको योगदान १५ लाख नौ हजार ७९ रुपैयाँ रहेको कार्यालयले जनाएको छ।

त्यसैगरी, तीन हजार ४१२ बाख्राको बीमा गरिएको छ। बाख्राको बीमित मूल्य छ करोड ८३ लाख ७४ हजार ७४७ रुपैयाँ रहेको छ। बीमाका लागि ३४ लाख ४८ हजार ७०९ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानले छ लाख ७८ हजार ७४२ रुपैयाँ व्यहोरेका छन्।

जिल्लामा ९८९ बङ्गुरको समेत बीमा गरिएको छ। ती बङ्गुरको बीमित मूल्य पाँच करोड १८ लाख ८१ हजार रुपैयाँ रहेको छ। यसका लागि २५ लाख २९ हजार ४३८ रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानको हिस्सा पाँच लाख पाँच हजार ८८ रुपैयाँ रहेको छ।

यसका अतिरिक्त तीन घोडा–खच्चरको बीमा गरिएको छ। तिनको बीमित मूल्य छ लाख रुपैयाँ रहेको छ। बीमाबापत ३० हजार रुपैयाँ प्रिमियम शुल्क लागेकामा किसानले छ हजार रुपैयाँ व्यहोरेका छन्।

पशु बीमाले रोग, दुर्घटना तथा बीमालेखमा समेटिएका अन्य कारणबाट पशुधनमा क्षति पुगेमा किसानलाई आर्थिक राहत उपलब्ध गराउन सहयोग पुग्ने पशु स्वास्थ्य प्राविधिक ठकुरीले बताए।

विशेषगरी गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुर तथा माछापालन व्यवसायमा संलग्न किसानका लागि पशु बीमा उपयोगी रहेको उनको भनाइ छ। बीमामार्फत पशुधनमा हुने सम्भावित क्षतिको आर्थिक भार कम गर्न सकिने भएकाले किसानलाई यस कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरिँदै आएको छ।