दैलेख– कालीकोटबाट बिरामी लिएर उपचारका लागि सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सोमबार बिहान करिब ५ बजे कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा दुर्घटनामा परेको हो। कर्णाली राजमार्गबाट करिब दुई सय मिटर तल खसेर जिप दुर्घटना हुँदा ६ जना घाइते भएका थिए।
घाइतेमध्ये ४१ वर्षीय रने सार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की, २७ वर्षीया जादुकला सार्की, १८ वर्षीय गंग सार्की, सान्नीत्रिवेणी–७ मुम्राका २१ वर्षीय तपेन्द्र सिम्खडा र सोही वडाका २२ वर्षीय जिपचालक योगेश सिम्खडा घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरी चौकी तल्लोडुंगेश्वरले जनाएको छ।
प्रहरी चौकी तल्लोडुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलका अनुसार जिप अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।






