तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन् । तिहार पर्व २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबिच एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण आधारका रूपमा तिहार रहेको बताउँदै राष्ट्रपति पौडेलले भाइटीका र म्हपूजाले प्रेम, स्नेह, सामाजिक एकता, समृद्धि, धर्म, दया तथा करुणाको सन्देश प्रवाह गर्ने बताएका छन् । साथै, अन्धकारमाथि प्रकाशको विजयको प्रतीकका रूपमा पनि तिहारको विशेष महत्त्व रहेको उनले उल्लेख गरेका छन् ।

तिहारमा काग, कुकुर, गाई, गोरु तथा गोवर्द्धन पर्वतको सम्मान र पूजा गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा बताएका छन् । लक्ष्मीपूजामा भगवती लक्ष्मीको आराधना गरिने तथा भाइटीकामा दाजुभाइ र दिदीबहिनीबिच टीका लगाएर हर्षोल्लासका साथ पर्व मनाइने उनले उल्लेख गरेका छन् ।

उनले गोवर्द्धन पर्वतको पूजा प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्धको प्रतीक भएको बताएका छन् । यस पर्वले मानव, पशुपन्छी, जीवजन्तु, प्रकृति र देवताप्रतिको सम्मान तथा प्रेमलाई प्रगाढ बनाउने उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले तिहारमा दियो बाल्ने, मिठा परिकार खाने तथा देउसी–भैलो खेल्ने परम्पराले सामाजिक भाइचारा र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

तिहारका विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा उज्यालो छर्दै सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अघि बढ्न प्रेरित गर्न सकोस् भन्ने कामना पनि उनले गरेका छन् ।

तिहार पर्वले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।