रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे १ च ३११२ नम्बरको जिप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप बिकले चलाएका थिए ।

दुर्घटनामा १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया वीरता थापा गम्भीर घाइते भएका छन् । वीरबहादुर जिपका धनीसमेत हुन् ।

त्यस्तै, २५ वर्षीया हीरा थापा र २ वर्षीय गौरव थापा मध्यम घाइते भएका छन् ।

घाइतेमध्ये सामान्य र मध्यम अवस्थाका ६ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने तयारी भइरहेको छ ।

दुर्घटनापछि चालक प्रदीप बिक फरार रहेका छन् । उनको खोजी भइरहेको र दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।