सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा पुनः सुक्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

आइतबार खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको भए पनि आज अपराह्न सोही स्थानमा पुनः पहिरो खसेपछि यातायात सेवा प्रभावित बनेको हो ।

वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

उहाँले केहीबेरमै एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको र दुईतर्फी रूपमा सडक खुलाउन भने थप समय लाग्ने बताए ।

सडक अवरुद्ध भएपछि पोखरा–बागलुङ सडकखण्डको दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।