पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै पटाका पड्काउने क्रम बढेपछि प्रहरीले जिल्लामा पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा कडाइ गरेको छ ।

पटाकाको छर्रा लागेर एक बालकको मृत्यु भएपछि प्रहरीले यसको नियन्त्रणका लागि निगरानी र सुरक्षा गस्ती तीव्र बनाएको हो ।

सोमबार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाकाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्र्याइने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न विशेष गस्ती तथा निगरानी बढाइएको छ ।

उनका अनुसार चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले नियन्त्रण संयन्त्रलाई सक्रिय बनाएको छ । प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी विस्तार गरेको छ ।

यसअघि पनि प्रहरीले चाडपर्वका बेला पटाका तथा विस्फोटकजन्य सामग्री प्रयोग नगर्न र त्यस्ता सामग्रीबाट टाढा रहन सर्वसाधारणलाई पटक–पटक आग्रह गर्दै आएको थियो ।