नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् आन्दोलन नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको इतिहासमा महत्त्वपूर्ण अध्यायका रूपमा रहेको बताएका छन् ।

नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

सभामुख अर्यालले राष्ट्रिय विभूति शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनु र सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय हुनु आन्दोलनका महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उनले प्राप्त उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई राष्ट्रिय शक्तिका रूपमा व्याख्या गर्दै उनले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको उल्लेख गरे ।

नेपाल भाषा, रञ्जना लिपि तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा राज्य तथा समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो । नेपाल संवत्लाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा यसको प्रयोग विस्तार गर्न सकेमात्र दीर्घकालीन संरक्षण सम्भव हुने उनले बताए ।

‘नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो’, सभामुख अर्यालले भने ।

नेपाल संवत्को सुरुवात राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको उल्लेख गर्दै उनले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले स्थापना गरेको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको बताए ।

उनले शङ्खधर साख्वाको योगदान कुनै एक समुदायमा मात्र सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय रहेको पनि उल्लेख गरे ।