आधुनिकतासँगै फेरिँदै तिहारको संस्कृति: हराउँदै मौलिक देउसीभैलो

डडेल्धुरा: आधुनिकताको प्रभाव र युवा पुस्ताको पलायनसँगै सुदूरपश्चिममा तिहार मनाउने परम्परागत शैलीमा परिवर्तन आएको छ। माटाका दियो र मौलिक देउसीभैलोको स्थानमा अहिले झिलीमिली बत्ती र आधुनिक मनोरञ्जनका साधनले प्राथमिकता पाउन थालेका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका-३ की ७० वर्षीया सरस्वती भट्टका अनुसार पहिले घरको मूलढोका, आँगन र गोठमा माटाका दियो बाल्ने चलन थियो। साँझपख गाउँभरि दियोको उज्यालो र देउसीभैलोका मौलिक भाकाले छुट्टै उत्साह थप्ने गर्थ्यो। अहिले माटाका दियोको ठाउँ विद्युतीय झिलीमिली बत्तीले लिएको छ।

नवदुर्गा गाउँपालिका-४ की शान्ति कुँवरले पहिलेको देउसीभैलोको सामूहिक रमाइलोको स्मरण गरिन्। उनका अनुसार साथीभाइ मिलेर घरघरमा पुगी गीत गाउने र घरधनीले दिएको धान, चामल वा दक्षिणा संकलन गरी रमाइलो गर्ने चलन थियो। अहिले यस्तो सामूहिकता र परम्परा घट्दै गएको छ।

स्थानीय लोक तथा देउडा गायक सुधिर जैरुका अनुसार पहिले देउसीभैलोमा स्थानीय लोकभाका, परम्परागत बाजागाजा र भट्याउने शैलीलाई विशेष महत्व दिइन्थ्यो। गीतका माध्यमबाट घरपरिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्थ्यो। तर, अहिले डिजेमा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दा मौलिक भैलोको पहिचान कमजोर बन्दै गएको छ।

संस्कृतिका जानकार कैलासकुमार पाण्डे समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक परम्परा बिर्सन नहुने बताउँछन्। उनले नयाँ पुस्तालाई पुराना भाका, बाजागाजा र देउसीभैलोको सांस्कृतिक महत्वबारे जानकारी गराउँदै यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्। आधुनिक मनोरञ्जनलाई आत्मसात् गर्दै पुस्तान्तरण हुँदै आएका मौलिक संस्कृतिलाई जोगाउन सकेमात्रै तिहारको वास्तविक सांस्कृतिक पहिचान कायम रहने देखिन्छ।