काठमाडौँ।तिहारको मुख्य पर्व भाइटीकाका दिन बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ।
दिउँसोपछि अचानक मौसममा परिवर्तन भएसँगै उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको हो। बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला र चाबहिललगायतका स्थानमा असिनासहित पानी परेको छ।
भाइटीकाको दिन दिदीबहिनी र दाजुभाइ टीका लगाउन आवतजावत गरिरहेका बेला भएको वर्षाले सर्वसाधारण प्रभावित भएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यही मौसमी प्रणालीका कारण काठमाडौँसहित देशका पहाडी भूभागमा बदली हुनुका साथै वर्षा भएको हो।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, अन्य पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।






