घट्यो खानेपानी महसुल शुल्क

झापा– चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्तालाई राहत दिने उद्देश्यले खानेपानीको मासिक महसुल घटाएको छ। निम्न आय भएका परिवारलाई लक्षित गर्दै समितिले विभिन्न खपत दरमा महसुल कम गर्ने निर्णय गरेको हो।

मेचीनगर नगरपालिकाका वडा नं. ११, १२ र १३ मा शुद्ध खानेपानी वितरण गर्दै आएको समितिले १० हजार लिटरसम्म पानी उपभोग गर्ने ग्राहकका लागि मासिक महसुल २०० रुपैयाँबाट घटाएर १७५ रुपैयाँ कायम गरेको छ।

समितिका अध्यक्ष राजन चिमौरियाका अनुसार शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले न्यून आय भएका परिवारको पहुँच सहज बनाउने उद्देश्यले साधारणसभाबाट महसुल घटाउने प्रस्ताव पारित गरिएको हो।

नयाँ दरअनुसार १० हजारदेखि २० हजार लिटरसम्म पानी उपभोग गर्ने ग्राहकले प्रतिहजार लिटर ३० रुपैयाँ महसुल तिर्नुपर्नेछ। यसअघि उक्त दर ३२ रुपैयाँ थियो।

त्यसैगरी, मासिक २० हजारदेखि ३० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताका लागि प्रतिहजार लिटरको महसुल ४२ रुपैयाँबाट घटाएर ४० रुपैयाँ कायम गरिएको छ।

यसअघि ३१ हजार लिटरभन्दा बढी पानी खपत गर्ने उपभोक्ताले प्रतिहजार लिटर ६५ रुपैयाँ तिर्दै आएकामा अब ६० रुपैयाँ मात्र तिर्नुपर्नेछ।

अध्यक्ष चिमौरियाले साधारणसभाबाट पारित महसुल घटाउने निर्णय आगामी मङ्सिर महिनादेखि लागू हुने जानकारी दिए। समितिमा हाल दुई हजार ७०० सदस्य आबद्ध छन्।