पटाका पड्काउँदा ऐतिहासिक सम्पदा पाँचतल्ले मन्दिरमा जोखिम हुनसक्ने चिन्ता

भक्तपुर– विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित ऐतिहासिक पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काइएपछि सम्पदाको सुरक्षा र मानव स्वास्थ्यमा पर्न सक्ने असरप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

नेपाल संवत् ११४७ को अवसरमा आयोजित न्हुदँया भिन्तुना र्‍यालीमा सहभागी तथा आन्तरिक पर्यटकले मंगलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको संख्यामा पटाका पड्काएका थिए। पटाकाबाट निस्किएको आगोको झिल्काले सयौँ वर्ष पुराना काठका संरचनामा आगलागी हुन सक्ने जोखिम बढाएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्।

पाँचतल्ले मन्दिर परिसरमा खुला रूपमा बारुदजन्य पटाका पड्काउनु ऐतिहासिक सम्पदामाथिको गम्भीर जोखिम भएको स्थानीयको भनाइ छ।

स्थानीय केपी छुस्याकीले पटाका पड्काइएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सांस्कृतिक चेतना र नागरिक जिम्मेवारीको अभावले मानिसमा विवेक हराउँदै गएको टिप्पणी गरेका छन्। भव्य काठका संरचनाबीच बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको उनको भनाइ छ।

त्यस्तै, अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरेका छन्।

मंगलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाका प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाज र धुवाँका कारण आसपासका सर्वसाधारणले सास्ती बेहोर्नुपरेको थियो। पटाकाबाट निस्किएको धुवाँले श्वास फेर्नसमेत कठिन भएको थियो।

पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटनासमेत भएको थियो। समयमै ध्यान दिइएकाले सम्भावित दुर्घटना र आगलागीबाट जोगिन सफल भएको प्रत्यक्षदर्शीको भनाइ छ। पटाकाको झिल्को मन्दिरका पुराना तथा मक्किएका काठमा परेको भए ठूलो क्षति हुन सक्ने अवस्था रहेको उनीहरूले बताएका छन्।

घटनाका बेला सुरक्षाकर्मीसमेत उपस्थित थिए। पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफूहरू संख्यामा कम र पटाका पड्काउने धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए। उनका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो। प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको जनाएको छ।

टौमढीका स्थानीयवासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका बासिन्दा प्रभावित भएको बताए। राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले राम्रोसँग सुत्नसमेत नपाएको उनको गुनासो छ। यस्तो गतिविधिबाट विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र बिरामी बढी प्रभावित भएको स्थानीयको भनाइ छ।

पटाकाको चर्को आवाजले शान्त वातावरणमा असर पुर्‍याउनुका साथै धुवाँका कारण घरभित्रै बस्नसमेत असहज भएको थियो। पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन्। यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दमलगायत समस्या निम्तिन सक्छन्।

बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

यद्यपि, एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन। यसको स्वास्थ्य जोखिम प्रदूषणको मात्रा, सम्पर्कको अवधि र पटक–पटकको सम्पर्कमा निर्भर हुन्छ।

विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक पाँचतल्ले मन्दिरका काठमा आगोको झिल्का परेर आगलागी भए त्यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत स्थानीयले उठाएका छन्।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको मात्र नभई प्रत्येक नागरिकको दायित्व भएको उनीहरूको भनाइ छ। पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि र नागरिक सबै जिम्मेवार हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

तिहारको अन्तिम दिनसमेत यस्ता घटना नदोहोरिऊन् र ऐतिहासिक सम्पदाको सुरक्षासँगै सर्वसाधारणको स्वास्थ्य तथा शान्त वातावरण कायम रहोस् भन्ने स्थानीयको अपेक्षा छ।