बाँके– नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ। कुनै समय नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको योजना अलपत्र पर्दा ताल क्षेत्र झाडी र बुट्यानले ढाकिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो। स्थानीय पूर्वाधार विकास र सौन्दर्य अभिवृद्धिका लागि उपमहानगरपालिकाले हालसम्म करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ। तर, उचित संरक्षण र व्यवस्थापनको अभावमा लगानीअनुसारको प्रतिफल देखिन सकेको छैन।
तालको सौन्दर्य बढाउन निर्माण गरिएका आकर्षक रेलिङ भत्किएका छन् भने पूरै क्षेत्र झाडी र बुट्यानले ढाकिएको छ। यसले तालको अस्तित्व नै सङ्कटमा परेको नेपालगञ्ज–२२ पुरैनीका स्थानीय अगुवा चेतबहादुर थापाले बताए।
उनका अनुसार कान्तिताल भौतिक पूर्वाधार र पर्यटनका दृष्टिले मात्रै नभई जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण छ। विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको यस क्षेत्रको संरक्षण आवश्यक रहेको उनको भनाइ छ।
पर्यावरण तथा चरा संरक्षणका क्षेत्रमा क्रियाशील अभियन्ताहरूले तालको प्राकृतिक स्वरूप जोगाउँदै पुरानै अवस्थामा फर्काउन माग गर्दै आएका छन्। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि अहिलेसम्म ठोस पहल हुन नसकेको उनीहरूको गुनासो छ।
झाडीले ढाकिएको ताल क्षेत्र साँझ र रातको समयमा झनै असुरक्षित बन्ने गरेको छ। लागुऔषध प्रयोगकर्ताहरूको जमघट बढेको र शङ्कास्पद गतिविधि हुने गरेकाले आसपासका बासिन्दा त्रसित बनेको थापाले बताए।
ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने सम्झौतासहित ठेक्का लिएका फनबहादुर गुरुङले परिसरमा निर्माण गरिएका रेलिङलगायतका संरचना लागुऔषध प्रयोगकर्ताले तोडफोड गरेको हुन सक्ने बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार गरेका छन्। उनले सरोकारवाला निकायसँग छलफल गरी कान्तितालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ तथा प्रभावकारी योजना बनाउने तयारी भइरहेको जानकारी दिए।
कुनै समय नेपालगञ्जको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको आधार बन्ने अपेक्षा गरिएको कान्तिताललाई तत्काल संरक्षण गर्नुपर्ने नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए। उचित व्यवस्थापन र नियमित रेखदेख गर्न सके ताललाई पुनः पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ।





