चितवन।पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिरमा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आइतबारदेखि लगातार तीन दिनसम्म सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो ठूलो भएकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिन भएको छ। चाडपर्वका कारण सवारीसाधनको चाप बढ्नु र पहिरो पन्छाउने मजदुर बिदामा जानुले पनि समस्या भएको उनले बताए।
उनका अनुसार पहिरो पन्छाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ। सानो पहिरो खसेमा तत्काल हटाएर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
मौसमको अवस्था, सवारीसाधनको चाप र अन्य परिस्थितिको मूल्याङ्कनपछि मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ।
यस सडकखण्ड हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधन र यात्रु पहिरोका कारण पटक–पटक प्रभावित हुँदै आएका छन्। सडक एकतर्फी सञ्चालनमा आए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।





