काठमाडौं । पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) को अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाउँदै पूरा गरेको हो।
यस हारसँगै पोखरा एभेन्जर्स जारी एनपीएलको प्लेअफ दौडबाट बाहिरिएको छ। पोखरा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
विराटनगरका लागि भने यो जितले प्लेअफ पुग्ने सम्भावना थप बलियो बनाएको छ। ६ खेलबाट ६ अंक जोडेको विराटनगर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।
अब विराटनगर शीर्ष चारमा आफ्नो स्थान कायम राख्दै प्लेअफमा पुग्ने लक्ष्यमा हुनेछ। लिग चरणको अन्तिम खेलमा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।






