मधेशका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने

धनुषा -मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

सभामुख रामअशिष यादवले मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार प्रदेशसभा बैठक बोलाएका छन्। बैठकको कार्यसूची तय गर्न शनिबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख यादवले जानकारी दिएका छन्।

सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। यसका लागि उनले बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन्।

विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा छन्। मतदान हुनुअघिसम्म पनि सहमति जुटाउने प्रयास जारी रहने उनले बताएका छन्।

नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

दुवै प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। सरकारको निरन्तरता सुनिश्चित गर्न मुख्यमन्त्री यादव अहिले विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने र आवश्यक बहुमत जुटाउने प्रयासमा लागेका छन्।