लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

गण्डकी । कास्की प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन सभ्यता’अन्तर्गत तीन दिनमा ४४ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत बुधबारदेखि शुक्रबारसम्म अवैध तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८ जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ जना, प्रहरीसँग झैझगडा तथा वादविवाद गर्ने पाँच जना, हतियार बोकेर हिँड्ने दुई जना, महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्ने दुई जना र झण्डीबुर्जा खेलाउने एक जनालाई नियन्त्रणमा लिइएको छ ।

कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको छ । तीमध्ये ५७ जना चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ भने एक जना चालकलाई अन्य ट्राफिक कसुरमा कारबाही गरिएको छ ।

त्यस्तै, २३ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदाममा राखेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा बढ्दै गएका अवैध तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले गत कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सञ्चालन गर्दै आएको छ ।

प्रहरीका अनुसार अभियान सुरु भएयता हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनमाथि कारबाही भइसकेको छ ।

लेकसाइड क्षेत्रमा झैझगडा, आपसी विवाद तथा पर्यटकमाथि दुर्व्यवहारजस्ता गतिविधि बढ्दै जाँदा क्षेत्रको पर्यटकीय छवि र शान्तिसुरक्षामा असर परेको जनगुनासो आएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।