जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँः सभापति लामिछाने

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसालाई कुनै हालतमा खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छठ पर्वको अवसरमा रास्वपाले शनिबार जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अब जनतामाझ आश्वासन र वाचापत्र मात्र नभई कामको परिणाम लिएर जाने बताए ।

जनताले पार्टीलाई दिएको अपार विश्वासलाई सम्मान गर्दै जनतालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ थियो । उनले भने, “हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ ।”

लामिछानेले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने स्पष्ट पारे । रास्वपाको उद्देश्य गरिब तथा विपन्न बस्तीमा टिकट पुर्‍याउनु नभई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर पुर्‍याउनु रहेको उनले बताए ।

“यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो,” उनले भने ।

उनले जनताको हितसँग जोडिएका विषयमा आफ्नो पार्टीको सरकार भए पनि वा अन्य दलको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने स्पष्ट पारे । यसलाई उनले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरे ।

सरकार जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेको उल्लेख गर्दै लामिछानेले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो । सभापति लामिछाने दम्पती छठ पर्व मनाउन शनिबार जनकपुरधाम पुगेका हुन् ।